कोरोनाभाइरस र लकडाउन

अमेरिकी विश्वविध्यालय जोन हप्किन्सको कोरोना श्रोत केन्द्रका अनुसार अप्रिल १६  सम्ममा विश्वभर झण्डै २१ लाख व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमिता भैसकेका छन् । गत केही महिनामा कोरोनाले देखाएको चुनौती मानवजातिका अगाडि नि:सङ्कोच २१औँ शताब्दीकै सबैभन्दा ठूलो हो । सिङगापुरस्थित DUKE-NUS Medical School को सरुवा रोग विभागका प्रमुख डा लिन्फा वाङ्ले केही बर्षअघी नै दिएको भाइरल महामारी (pandemic) को चेतावनी हेर्दाहेर्दै आज वास्तविकता बनेको छ ।

कोरोना को सङ्क्रमण दर हेर्ने हो भने अझै धेरै अत्यासलाग्दो छ ।अमेरिका जस्तो विकसित देशमा पनि सङ्क्रमित सङ्ख्या हरेक ४-५ दिनमा दुगुना हुँदै छ । यद्यपि धेरैजसो सङ्क्रमित व्यक्तिहरु केही हप्तामै ठीक हुन्छन्, यो भाइरसको मृत्युदर पनि सानो छैन । विशेषगरी रोगका लक्षणहरु नदेखिएका व्यक्तिहरुबाट अन्जानमै पनि यो भाइरस अरुमा सर्न सक्ने भएकोले यसको रोकथाम अझै कठिन भएको छ । दर्जनौं देशहरु अनिश्चित कालका लागी बन्द हुँदा जनमानसमा मच्चिएको त्रास एकातर्फ छँदैछ, त्यसमाथि सामाजिक सन्जाल र कतिपय संचार माध्यमहरुमा फैलिरहेका कुतथ्यले कोरोनाको आतङ्क अझै बढाएको छ ।

एक गैरआवासीय नेपाली तथा क्यान्सरको उपचार चाँडो पत्ता लाउन खोज्ने अनुसन्धानमा समर्पित वैज्ञानिकका हैसियतले म यस लेखमार्फत सामान्य नेपाली जनतामाझ अद्यावधिक एवम् प्रमाणित सत्य-तथ्यहरु ल्याउन चाहन्छु । आशा राख्दछु कि विश्व्-प्रसङ्गको सफा चित्रण र जानकारी सबैमा भएपछि नेपालमा प्रारम्भिक चराणमै कोरोनाको रोकथाम गर्न सकिनेछ । लेख लामो छ तर कृपया पुरै पढ्नु होला । तपाईंलाई भएको जानकारिले तपाईंका परिवार र छिमेकी को बचावट हुन सक्छ ।

एक सिक्काका दुई पाटाझैं कोरोनाको प्रभावले मानव सौहार्दता र सहकारितका लुकेका बिउ नअङ्कुराएका होइनन् । सारा मानवजाति एकजुट भै नयाँ प्रविधिको विकासमा लागेको छ । आफ्नो समाज र विश्वप्रतिको नव-जिम्मेवारिको साथसाथै आफ्नो स्वास्थ्यको महत्वको बोध गराएको छ कोरोनाले । प्रदूषण घटेको छ, अनि अन्य विरुवा तथा पशुपन्क्षीका प्रजातिहरु पृष्ठभूमिमा फस्टाएका छन् ।

कोरोना तीव्र गतिमा दौडिरहेछ । अनुसन्धानकर्ताहरुका अनुसार पहिलो सङ्क्रमित बिरामी (Patient Zero) नोवेम्बर २०१९ मा सङ्क्रमित भएका थिए, तर जनवरी २०२० मा मात्रै विश्वलाई चिनियाँ सङ्क्रमणबारे जनकारी भएको थियो । चार महिना नपुग्दै १३ लाख जनालाई सारीसक्यो । हामीले चाँडै सुरु गरेनौं भने हाम्रो विशाल क्षती निश्चित छ, तर पहिले हाम्रो सङ्क्रमणको भयलाई पुनर्विचार गरौं । कोरोनाबारे तथ्यहरू अनलाइन छ्याप्छ्याप्ती पाइन्छन्, तर यस्तो गम्भीर परिस्थितिमा विज्ञहरुद्वारा प्रकाशित, आधिकारिक र निष्पक्ष जानकारीहरु पाउन अत्यन्त जरूरी छ ।

कोरोना कसरी सर्छ?

पहिले भाइरससँग परिचित हौं । COVID-19 रोग नयाँँ कोरोना भाइरसका कारण लाग्ने रोग हो । यो एक व्यक्तिबाट अर्कोमा हाच्छ्युँ गर्दा अथवा खोक्दा निस्कने छिटाहरु मार्फत सजिलै सर्दछ, सङ्क्रमितबाट अरुको शरीरमा सोझै अथवा हातले छुँदा अथवा अन्य सतहहरु मार्फत । धातु र प्लास्टिकको सतहमा यो भाइरस केही दिनसम्म बस्न सक्छ। नयाँ प्रमाण अनुसार यो भाइरस सामान्य श्वासप्रश्वासमार्फत पनि हावामा (aerosol) केही घन्टासम्म बस्न सक्छ र बन्द कोठामा सँगै रहेको अर्को स्वस्थ  व्यक्तिमा सर्न सक्छ । सङ्क्रमणको सम्भावना भने सङ्क्रमित सँगको बिताएको समयअवधि र हावामा भाइरसको घनत्वमा भर पर्दछ । तर, यसबारे विवाद र थप अनुसन्धान जारी छ र आगामी दिनहरुमा अर्को निष्कर्ष पनि निस्कन सक्छ । जब यो भाइरस हाम्रो श्वास्प्रश्वास प्रणालीमा पुग्छ, त्यहाँ भएका कोशीकामा आफ्नो अणुवंश (DNA) प्रयोग गरी असंख्य अरु भाइरस बनाउन सक्छ । यसरी ‘कोशीका-अपहरण’ वा सङ्क्रमण भएको २ देखि १४ दिनसम्म रोगका लक्षणहरु देखिन सक्छन् । जब भाइरसका अणुहरुको चाप निकै बढ्दछ, कोभिड-१९ का लक्षणहरु ज्वरो, सुखा खोकी, र श्वास्प्रश्वासमा कठिनाता देखिन थाल्दछन् । भाइरसको बाहुल्यता बढ्दै गएमा निमोनिया पनि हुन सक्छ ।

लक्षण बिना नै सङ्क्रमण

सङ्क्रमितहरु मध्ये धेरैमा भने रोगका कुनै पनि लक्षण देखिदैनन, अथवा धेरै ढिला र विस्तारै देखिन्छन । यो भिन्नाता सङ्क्रमित व्यक्तिको उमेर, स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली (immune system) मा भर पर्दछ । आइसल्याण्ड देशबाट भर्खरै आएको एउटा तथाङ्कअनुसार कोरोना पोसिटिभ देखिएका १ प्रतिशतको आधा व्यक्तिमा कुनै पनि लक्षण देखिएनन् । यो तथ्य चिन्ताजनक छ, किनकि हजारौं स्वस्थ युवाहरुले जानीनजानी अस्वस्थ र विशेषगरी ६० भन्दा माथिका वृद्धहरुमा कोरोना भाइरस सार्न सक्छन् (asymptomatic transmission)। यो कुरा नेपाली समाजमा अझै सान्दर्भिक छ जहाँ ३ पुस्ता एकै घरमा बस्छन् । बिरामीको दिसा-पिसाबमा पनि केही मात्रामा भाइरस देखिएको भए पनि श्वास्प्रश्वास बाहेक अन्य माध्यमबाट (जस्तै आमाको दूध, विर्य वा वमन) भाइरस सर्छ कि सर्दैन भन्ने प्रश्नमा थप अनुसन्धान हुन बाँकी छ ।

परीक्षण, भ्याक्सिन र उपचार

कोरोनाको परीक्षण गर्ने प्रविधिमा भने तीव्र विकास भएको छ । उपचारका विकल्पहरुमा पनि आशाको किरण देखिएकै छ । PCR Based Genetic Testing प्रविधिले केही मिनेटदेखि केही दिनभित्रै नतिजा दिन सक्छ । Abbott Laboratories, USA द्वारा निर्मित एक प्रविधिले ५ मिनेटभित्र नाक र घाँटीमा कोरोना भाइरस पोजेटिभ नतिजा र १३ मिनेटभित्र नेगेटिभ नतिजा देखाउन सक्छ, जुन अमेरिकी अस्पतालहरुमा लागू भैसकेको छ । शीघ्र परीक्षण गर्ने क्षमताले रोग रोकथामका योजनाहरु बनाउन मद्दत गर्दछ । पीसीआर परीक्षण गर्ने उपकरणले कैलेकाँही त्रुटि पनि गर्न सक्छ । सङ्क्रमित व्यक्तिलाई नेगेटिभ (False Negative) देखाउन सक्छ । False Negative को परिणाम अति नै भयावह हुन सक्छ किनकि त्यसले सङ्क्रमित व्यक्तिलाई फेरि अरुमाझ ल्याउँछ । नेपाल र अफ्रिकी मुलुकहरुमा अति नै संवेदनशील (High Sensitivity) प्रविधिमा लगानी गर्न आवश्यक छ जसले कम त्रुटि गर्छन् ।

Cellex/ Mayo Clinic/ Stanford University, USA ले रगत परीक्षणको विकास गरेको छ जसले कोरोना भाइरसका antibody हरुको उपस्थिति लक्षण देखिएका (symptomatic) र नदेखिएका (asymptomatic) सबै बिरामीहरुको रगतमा पत्ता लाउन सक्छ । रगतमा भएका antibody हरुले भविष्यमा त्यही भाइरसको सङ्क्रमण्हरुबाट बचावट गर्छन् । त्यसैले COVID-19 बाट निको भैसकेका व्यक्तिहरुको रगतको plasma सिरियस बिरामीहरुमा प्रयोग गरेर उपचारात्मक प्रयोगमा ल्याइएको समेत छ । चीनमा भएको एउटा सानो परीक्षणमा plasma transfusion गरिएका ५ जनामध्ये ३ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने २ जना को स्तिथिति सामान्य छ । अन्य देशहरुमा ठुलो सङ्ख्यामा यो प्रविधिको प्रभावकारिताको जाँच हुने तयारी छ । सम्भावित vaccine हरुको परीक्षण पनि हुँदैछ, तर सामूहिक रुपमा विश्वभर vaccine चालु गर्न वर्षौं लाग्न सक्छ ।

रोगको उपचार खोज्ने क्रममा एचआईभि एड्स र इबोलाको लागि दिइएका औषधिहरु परीक्षण हुँदै छन् र कुनै सफल vaccine आउनु अगावै ती मध्ये कुनै औषधि COVID-19 का लागि प्रयोग हुन सक्ने सम्भावना जिवित भए पनि नेपालजस्ता तेस्रो मुलुकमा औषधिको आपूर्ति हुने सम्भावना फितलो छ ।

सामाजिक दूरी र लकडाउन 

भाइरसको त्रासमै गुजृरहेको अहिलेको समयमा सामाजिक दूरी कायम राख्नु नै सबैभन्दा सशक्त रणनीति हो ।अत्यावश्यक कामभन्दा बाहेक अरु कुराका लागी आफ्नो घरको परिधिबाट निस्कनु बुद्धिमानी देखिदैन । सान फ्रान्सिस्को र सिएटलजस्ता अमेरिकी शहरहरु उदाहरण छन् जहाँ पहिला चरणहरुमै सामाजिक दूरी अपनाइएको थियो र फलस्वरूप नयाँ सङ्क्रमण हुने दर निकै कम देखियो। अर्कोतर्फ न्यू योर्क सिटी जहाँ विशाल जन्-घनत्व र समयमै लक-डाउन नगरेर भाइरस छिटो-छिटो फैलिएको छ । स्पेन र इटाली जस्ता मुलुकहरुमा त झन् मृत्युदर १० देखि १२% (अमेरिकाभन्दा ४ देखि ५ गुना) देखिएको छ । केही चीनका शहरहरु भने संसारलाई आशावादी बनाउँदै प्रगतिपथतर्फ लम्केका छन् मुख्यत: गणित र तथ्यङ्कशस्त्र विश्लेषण मार्फत । वुहान शहरबाट १०० किलोमिटर जति टाढा रहेको छियान्जियाङ नामक एक ठूलो शहरले जनवरी १७ देखिनै लकडाउन सुरु गरेपछि चीनका बाँकी शहरभन्दा निकै कम सङ्क्रमण देखिएको थियो ।

अरु देशहरुका गल्तिबाट निश्चय नै हामी धेरै पाठ सिक्न सक्छौं । सरकारले गर्न सक्ने कुराहरु सिमित मात्र छन् । हामी जनता स्वयंले यो लडाइ लड्न नसके विजय सम्भव छैन । त्यसैले हामी सबैमा कोरोना भाइरस सङ्क्रमणको गति र त्यसको गम्भीरता को आभाष हुनु अत्यन्त जरूरी छ । एक जना सङ्क्रमित व्यक्तिले औसतमा जती जनालाई रोग सार्न सक्छ, त्यो सङ्ख्यालाई महामारी विज्ञानको भाषामा Basic Reproductive Number अथवा R0 भनिन्छ । उदाहरण्का लागि २००३ को SARS रोगको R0 मान २.७५ थियो र लकडाउन पछि केही महिनामै एकभन्दा तला झरेको थियो । कोरोनाको R0 मा अझै अनुसन्धान हुँदै भए पनि SARS भन्दा धेरै बढी हुने वैज्ञानिक सहमति छ, त्यसैले सामजिक दूरी कायम राख्न हामिले अझै धेरै अनुशासित हुनुपर्ने देखिन्छ ।

अरु सरुवा रोगहरुका दाँजोमा कोरोनाको सर्ने दर निकै नै धेरै र सर्ने तरिका पनि सजिलो भएकोले नेपाल जस्ता परीक्षणको अभाव भएका धेरै देशमा आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी सङ्क्रमित भैसकेका हुन सक्छन् र लकडाउन अवज्ञा धेरै भएको भए त झन् हजारौंको सङ्ख्या मा । त्यसैले सबै नागरिकहरुले आफ्नो जिम्मेवारी पूरा गर्दै राज्यले लागू गरेको लक्डाउन पालना गर्न नसके यो युद्ध महिनौंसम्म लम्बिन सक्छ । सरकारले पनि एस्तो जटिल समयमा जनाताको विश्वास जित्न पूर्ण पार्दर्शीता अपनाउन जरूरी छ ।

दैनिक ज्यालामा बाँच्ने मजदूरलगायत निम्न आम्दानीका परिवारहरुलाई लक्डाउनले आर्थिक समस्या ल्याउन सक्छ, र अहिले उनिहरुलाई सकेसम्म राहत पुर्‍याउनमा सरकारको ध्यानाकर्षण पनि हुनै पर्छ । चीन र भारतसँगको विदेश नीति र आवश्यक सहयोगको आपूर्ति पनि अहिलेका समयमा महत्वपूर्ण रहनेछ । कोरोना राहतका लागि प्राप्त अनुदानलाई सही ठाउँमा सदुपायोग गर्न सञ्चार र माध्यमको पनि अहम् भूमिका हुनेछ । सामाजिक व्यवस्था कायम राख्न सरकारले आफ्ना नागरिकहरुमा कडा निगरानी पनि राख्नु पर्ने हुन सक्छ । कुनै मुलुकहरुमा drone camera , contact tracing तथा geolocation tracking पद्दतिहरु समेत अपनाइदै छन् । हामी सबैको सामूहिक भलाइका लागि त्यस कदमलाई सकारत्मक रुपले हेर्न सक्नुपर्छ ।

अन्तत: ,चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु महमारीको समयका सैनिक हुन् । तीनलाई हामी सबैबाट माया र सद्भाव मिल्नु पर्छ र राज्यले पूर्णतया आवश्यक सुरक्षा सामग्री को व्यवस्था गर्नुपर्छ ।

लकडाउन र मानसिक स्वास्थ्य

महामारीका बेला सबैले व्यवस्ता गरेको एक महत्वपूर्ण पक्ष भनेको हामीमाथिको मनोविज्ञानिक प्रभाव हो । दिनभर घरमै बस्नुपर्ने बाध्यता, एक्लोपना,आर्थिक दबाबमाझ निरन्तर खबरहरुको प्रवाहले तनाव बढ्नु स्वभाविकै हो । हामीमध्ये धेरैजसो कोरोनाका प्रत्यक्ष शिकार नबनौंला तर यसले निम्त्याउने भावनात्मत कठिनाइका शिकार बन्न सक्छौं । यसबेला हाम्रो पूर्वी सभ्यताले लामो समयदेखि अभ्यास गर्दै आएका अध्यात्मवादलाई गुहार्न सक्छौं, विशेष गरी योगा र ध्यानलाई । आधुनिक विज्ञानले पनि मस्तिष्कको चित्रण गरेर ध्यान गर्नुका अचूक फाइदाहरु भएको पुष्टि गरेको छ । ध्यान गर्न कुनै विशेष स्थान पनि चाहिँदैन, जहाँ बसेर पनि गर्न सकिन्छ । ध्यानले हाम्रो तनाव नियन्त्रण गर्नुका साथै हामिलाई अनावश्यक अत्यासबाट पनि मुक्त गराउँछ र शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ, र सबैभन्दा महत्वपूर्ण कुरा शरीरको रक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

लक्डाउनको कुनै सकारात्मक पक्ष छ भने त्यो हो हामीमा यसले मानव मुल्य र मान्यताहरुको चेतना जगाउँछ । हाम्रो अहमलाई शान्त गराउँछ र हामिलाई एकजुट बनाउँछ ।

केही महिनामा कोरोनाभाइरस सुस्ताउला पनि, अथवा सामान्य मौसमी बिमारी भएर निस्केला। तर अहिलेको वास्तविकता यही हो र यसलाई स्वीकार गरौं । सबै मिलेर सामाजिक दुरीको अभ्यास गरौं । सबैले सँधै सुन्दै आएको २० सेकेन्ड साबुन पानीले हात धुन र उपयुक्त ठाउँमा मास्कको प्रयोग गर्न नबिर्सौं । २१औं शताब्दीको आधुनिक प्रविधिको सदुपायोग गर्दै सामाजिक बनौं । आउने पिँढीहरुका लागि उदाहरण बनौं ।


Rakesh bam - coronavirus and lockdown

लेखक

राकेश बम, पीएचडी, हाल क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटी, स्कूल अफ मेडिसिन, मा रेडियोलोजी विभाग मा एक अनुसंधान वैज्ञानिक हुन् र बारम्बार पिएर-रिभ्यू वैज्ञानिक जर्नलमा प्रकाशन गर्नुका साथै पेटन्ट अनुप्रयोगहरुमा एक आविष्कारकको रुपमा उल्लेखित छन्। उनले सन् २०१४ मा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ अर्कान्सास मेडिकल साइन्स बाट ब्लड क्यान्सरको आणविक जीवविज्ञानमा पीएचडी प्राप्त गरे। स्ट्यानफोर्ड युनिभर्सिटीमा पोस्ट डक्टोरल प्रशिक्षणमा उनले स्तन र अग्नाशयको क्यान्सरको बृद्धि रोक्नको लागि एउटा सानो अणु औषधि भेट्टाउनुको साथ साथै बायोप्सीको आवश्यकता बिना नै प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन आणविक अल्ट्रासाउंड इमेजिंग टेक्नोलोजी विकास गरे। उनी एक लेखक, खेल उत्साही, र एक ध्यानाकर्मी हुन्। उनी शिक्षा र प्रशिक्षणको माध्यमबाट नेपालमा आधारभूत विज्ञान अनुसन्धान प्रवर्द्धन गर्न पनि इच्छुक छन्।

परिमार्जक र अनुवादक: तारा भट्ट, Master of Genetics, University of Chicago